तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय शिक्षा नै आजको युग स्तरीय माग हो : प्रधानमन्त्री ओली 

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको युगमा शिक्षा गुणस्तरीय हुन नसके समग्र मुलुक पछि पर्ने बताउनुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले युग स्तरीय आफै उद्यमशीलता सिर्जना गर्न सक्ने शिक्षामा जोड दिनुभयो । दीक्षित विद्यार्थीलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पुँजीवाद, समाजवादको बहस गर्नु भन्दा ठूलो कुरा मानवतावाद भएको जिकिर गर्नुभयो । 

मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उहाँले उपलब्ध स्रोतसाधनको उचित प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आजको भूमण्डलीकरणको युग अनुकूलको नागरिक निर्माण गर्न नसके मुलुक विकासको दौडमा पछाडि पर्ने बताउनुभयो । 

मध्यपश्चिम विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अरबौँ पूँजी विदेश पलायन हुनु चिन्ताको विषयको जनाउनुभयो । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तीलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको उहाँको भनाइ थियो । 

मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि बिदेसिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले ऐन, नियम र कार्यव्यवस्था प्रणालीअन्तर्गत रहेर आवश्यकताका आधारमा निजी प्रतिष्ठानहरूलाई उच्च शिक्षा प्रदानको गतिलो साझेदार बनाएर जान सकिने धारण व्यक्त गर्नुभयो । कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कर्णालीको खस सभ्यता, इतिहास, तेल खानी, जडीबुटी तथा पानी उपयोगिता बारे थप खोज अनुसन्धान गर्न बाँकी रहेको जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button