डिभिजन वन कार्यालय जुम्लाद्वारा एक करोड २० लाख राजश्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको आठ महिनामा एक करोड २० लाख बढी राजश्व सङ्कलन गरेको छ । गत वर्ष यतिबेला शुन्य आम्दानी गरेको डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको दोस्रो साता सम्म एक करोड २० लाख राजश्व सङ्कलन गरेको हो ।
जडीबुटी तथा वन पैदावारको प्रचुर सम्भावना रहेको जुम्लामा वन कार्यालयको सक्रियतामा यस वर्ष आम्दानी सन्तोषजनक भएको हो । जिल्लामा बिहीबार आयोजित सरोकारवालाको बैठकमा सार्वजनिक प्रगति प्रतिवेदनअनुसार वनको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार अन्तर्गत पार्क निर्माण, पदमार्ग, मठ मन्दिर लगायतका पूर्वाधार निर्माण, वन संरक्षण, जडीबुटी प्रशोधन तथा प्रवद्र्धनका क्षेत्रमा उल्लेखीय काम गरिरहेको पाइएको छ ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले गत वर्ष शुन्य आम्दानी भएको कार्यालयमा यस वर्ष वन पैदावार तथा जडीबुटीबाट एक करोड २० लाख राजश्व सङ्कलन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘वन कार्यालयले वन पैदावार, जडीबुटीबाटै राजश्व सङ्कलन गर्ने हो । गत वर्ष ‘वन व्यवस्थापन पञ्चवर्षीय कार्ययोजना निर्माण नभएकै कारण राजश्व सङ्कलन हुन सकेन् । गत वर्ष आम्दानी वृद्धिमा प्रगति नदेखिनुमा पञ्चवर्षीय कार्ययोजना नबन्नु मुख्य बाधक हो ।’
साथै जिल्लामा अतिक्रमण बढिरहेको अवस्थामा ५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको,४६ वनको नयाँ कार्ययोजना बनाइएको,२ वटा नयाँ सामुदायिक वन दर्ता भएको,४० प्रतिशत वन क्षेत्रको संरक्षण,सदुपयोग तथा व्यवस्थापन गरिएको,प्रस्तावित गिडिखोला भलखोला फूलचौल्या सडकको वातावरणीय प्रभाव मूल्याङ्कन, वनजन्तुको उद्धार, लगायतका काम गरिएको प्रमुख बुढथापाले उल्लेख गर्नुभयो ।
कार्यालयमा चालू आवमा कार्यान्वयन हुने गरी कूल साढे ११ करोड बजेट विनियोजन भएको छ । चालू तर्फ ४ करोड ७१ लाख,पूँजीगत तर्फ २ करोड ५५ लाख ५० हजार र सङ्घीय समपूरक अनुदान तर्फ जडीबुटी प्रशोधनका लागि ४ करोड ३१ लाख ५० हजार रुपैयाँ गरि कूल ११ करोड ५८ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।
जनशक्ति अभाव, भौगोलिक विकटता जस्ता कठिनाइका बीच पनि प्राप्त जिम्मेवारी तथा विनियोजित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको डिभिजन प्रमुख बुढ्थापाले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्