पीएसवीको अवधारणलाई प्रदेश सरकारले अपनत्व लिन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । नेपाल टेलिभिजन कर्णाली ब्युरो कार्यालय सञ्चालनका लागि प्रदेशसँग सहकार्य गर्ने विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टबीच आज मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ ।
छलफलमा मुख्यमन्त्री कँडेलले नेपाल टेलिभिजन र रेडियो नेपालसँग अहिलेपनि सहकार्य भइरहेको उल्लेख गर्नुहुँदै एकीकृत रुपमा आएकाे सार्वजनिक सेवा प्रसारण नेपालको अवधारणा अनुरुप आगामी दिनमा पनि प्रदेश सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
मुख्यमन्त्री कँडेलले कर्णालीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेकाे छलफलका क्रममा उल्लेख गर्नुभयाे । यस्तै छलफलका क्रममा कार्यकारी अध्यक्ष डा. विष्टले समयानुकूल आधुनिक प्रविधिहरुकाे प्रयाेग गर्दै रेडियाे नेपाल र नेपाल टेलिभिजनकाे प्रसारणलाई जनता केन्द्रीत बनाउदै लगिएकाे बताउनुभयाे ।
कार्यकारी अध्यक्ष डा. विष्टले आजै नेपाल टेलिभिजन कर्णाली ब्युरो कार्यालयको स्टुडियोसँगै रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेतको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

अनुगमन तथा निरीक्षणका क्रममा रेडियो नेपालका कर्मचारीका समस्या तथा गुनासाहरू सुन्नुका साथै सार्वजनिक सेवा प्रसारण नेपालका बारेमा जानकारी गराउदै कार्यकारी अध्यक्ष डा विष्टले यसै फागुन मसान्तभित्र नेपाल टेलिभिजन कर्णाली ब्युरो कार्यालय सञ्चालनमा आउने जानकारी गराउनु भयो ।
त्यस अवसरमा एनटीभी कोहलपुरका प्रमुख विजय वर्माले कर्णाली ब्युरो कार्यालयको स्टुडियोको परीक्षण गर्दै कार्यकारी अध्यक्ष डा. विष्टसँग पीएसवीका अवधारणा र कर्णाली प्रदेशमा त्यसको महत्वका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्