उपप्रधानमन्त्री सिंहद्वारा नेपालगन्जमा नवनिर्मित सिटी हलको उद्घाटन
नेपालगन्ज । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालगन्जमा नवनिर्मित सिटी हलको उद्घाटन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरस्थित नगरकै अहिलेसम्मकै ठूलो क्षमताको सुविधा सम्पन्न सिटी हलको आज एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजनाले सिटी हल निर्माण गरेको हो । ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले २८ करोड बढी लागतमा निर्माण सम्पन्न गरेको सिटी हलमा ७९५ सिट क्षमताको सुविधा सम्पन्न हल छ । त्यस बाहेक अन्य साना तीन वटा बहुउद्देश्यीय हल पनि छन् । सिटी हल उद्घाटन पश्चात् उपप्रधानमन्त्री सिंहले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभएको थियो ।
सिटी हल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सिटी हलको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । सिटी हलले नेपालगन्ज क्षेत्रको आर्थिक क्रियाकलाप प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले सिटी हल छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले सिटी हलको संरक्षण र संवर्द्धनमा लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसदहरु किशोर सिंह राठौर, दीपा शर्मा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्ट लगायतले बोल्नुभएको थियो । सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्