ताप्लेजुङमा निषेधाज्ञा जारी
ताप्लेजुङ । ताप्लेजुङ केबलकार निर्माणको विषयलाई लिएर पटक-पटक भएको झडपका कारण स्थानीय प्रशासनले गरेको निषेधाज्ञा जारी रहेको छ । जिल्ला सदरमुकाम फुङलिङ र पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको काफ्लेपार्टी र बलुडाँडा क्षेत्रमा चारकिल्ला तोकी निषेधाज्ञा जारी गरेको छ ।

आइतबार बिहान ५ बजेदेखि लागु भएको निषेधाज्ञा कायम रहेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माले आज साँझ सम्ममा समीक्षा गरेर क्षेत्राधिकारका बारेमा हेरफेर हुन सक्ने बताउनुभयो । शनिबार राति पाथीभरमा केबलकार निर्माणको विरोध गर्दै आएको फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडप सँगै स्थिति तनावपूर्ण भएको पनि निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै ताप्लेजुङ सदरमुकाममा चहलपहल कम देखिएको छ । जिल्लाको विभिन्न कार्यालय तथा चोक-चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।
पक्राउ पर्नेको सङ्ख्या १७ पुग्यो
ताप्लेजुङको फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्षबीच भएको झडपपछि पक्राउ पर्नेको सख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार सोमबार दुई जनालाई पक्राउ गरेसँगै १७ पुगेको हो । शनिबार पक्राउ परेका १५ जनालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरेको थियो । आइतबार १५ जनालाई उपद्रव तथा हुलदङ्गा गरेको भन्दै जिल्ला अदालत ताप्लेजुङमा सात दिनको म्यादथप गरी अनुसन्धान थालिएको रावले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्