तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्दै निर्यात प्रवर्द्धन गर्छौँ : मन्त्री भण्डारी 

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनलाई प्याकेजिङ र ब्राण्डिङ गर्दै स्वदेशमै उपभोग र विदेशमा निर्यात गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको बताउनुभएको छ । 

उहाँले कञ्चनपुरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

भारतको उत्तराखण्ड प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज) ले नेपाल(भारतबीचको व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्न यस्ता महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै लगानीको अवसर सिर्जना गर्ने र वित्तीय तथा सहकारी क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको १० दिने महोत्सवमा लघु उद्योग, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवालगायत विभिन्न क्षेत्रका स्टलहरू राखिएका छन् । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति, बालबालिकाका लागि बाल उद्यान र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button