एनआरटीलाई पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश
काठमाडौँ । न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक केपी एफसीका लागि सुरज ज्यू ठकुरीले निर्णायक गोल गरे । आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ ।
पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
ललितपुर सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमामा सोमबार सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे ।
अब आर्मीले फाइनल प्रवेशका लागि सङ्कटा र एपिएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबार देखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताअन्तर्गत मङ्गलवार दुई खेल हुनेछन् । पहिलो खेल साँढे ११ बजे एपिएफ र सङ्कटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्