तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा शतप्रतिशत बढी किशोरीले ‘एचपीभी’ खोप लगाए

नेपालगञ्ज । बाँकेमा शतप्रतिशत बढी लक्षित किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । एचपीभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३३ हजार ४५९ अर्थात् १००.२५ प्रतिशत किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले उक्त अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्य भन्दा करिब ५७ प्रतिशत बढी किशोरीलाई खोप लगाइएको बताउनुभयो । खजुरामा ३ हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ हजार १०० जनालाई खोप लगाइएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा पनि लक्ष्य भन्दा करिब दुई प्रतिशत बढी किशोरीलाई खोप लगाइएको छ । प्रायः खोप अभियानमा पछाडि पर्ने नेपालगञ्ज उपमहानगरमा यस पटक एचपीभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको छ । श्रेष्ठका अनुसार नेपालगञ्जमा ८ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ८ हजार ४०० जनाले खोप लगाएका छन् ।

यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९.२३ प्रतिशत किशोरीले खोप लगाएका छन् भने राप्तीसोनारी गाउँपालिकामा ९७।८२ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९०.२३ प्रतिशत, बैजनाथमा ९६.६० प्रतिशत र नरैनापुरमा ९२.५७ प्रतिशत किशोरीले खोप लगाएका छन् ।सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३.१३ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

माघ २२ गतेबाट खोप अभियान शुरु गरिएकोमा आठ पालिकालाई दुई चरणमा विभाजन गरेर खोप लगाउने कार्य सम्पन्न गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button