तपाईँ सुन्दै हुनुहुन्छः

फागुन २४ गतेबाट दोस्रो संस्करणको टीकापुर साहित्य महोत्सव हुने

कैलाली । कैलालीको टीकापुरमा यही फागुन २४ गतेबाट टीकापुर साहित्य महोत्सव हुने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा यही फागुन २४, २५ र २६ गते साहित्य महोत्सव हुने आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 

टीकापुर नगर विकास समितिको सभा हलको प्राङ्गणमा त्रि दिवसीय ‘टीकापुर साहित्य महोत्सव– २०८१, दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक महेशविक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

यस पटकको साहित्य महोत्सवमा नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँरको समग्र व्यक्तित्व र कृतित्वका बारेमा चर्चा र विचार विमर्श हुने संयोजक शाहले जानकारी दिनुभयो । 

संयोजक शाहका अनुसार यसपटक साहित्य समाजले ३ विधामा ४ जनालाई पुरस्कार वितरण गर्ने भएको छ । १ लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार साहित्यकार बलबहादुर रावल र धनञ्जय तिमिल्सिनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

५० हजार राशिको टीकापुर साहित्य समाज प्रोत्साहन पुरस्कार मदन पुरस्कार विजेता विवेक ओझालाई प्रदान गरिनेछ भने जेहेन्दार विद्यार्थी पुरस्कार पालिकाले सिफारिस गरेको विद्यार्थीले पाउनेछन् । 

महोत्सवमा २१ बहस सत्रहरू रहने र प्रत्येक बहस सत्र १–१ घण्टाको हुनेछन् । महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुनेछ भने नेपाली साहित्यका शिखर व्यक्तित्व प्रा. डा. अभि सुवेदीका अनुभव सुन्ने अवसर टीकापुर बासीले पाउने शाहले जानकारी दिनुभयो । 

महोत्सवको पहिलो दिन काव्य सन्ध्या, दोस्रो दिन गजल सन्ध्या र तेस्रो दिन सङ्गीत सन्ध्या हुनेछ । सङ्गीत सन्ध्यामा सुदूरपश्चिमका कलाकारहरूको प्रस्तुति रहनेछ ।

साहित्य महोत्सव आयोजनाको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान महोत्सवको प्रवद्र्धक रहेको छ । सह प्रवर्द्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहने छन् । यसअघि २०७९ सालमा टीकापुर साहित्य महोत्सवको पहिलो संस्करण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button