तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती सेवा विधेयक टुङ्गो लगाउन ११ सदस्यीय उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमाथि छलफल गरी टुङ्गो लगाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिमा विचाराधिन संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरी टुङ्गो उपसमिति गठन गर्न गर्नुभएको प्रस्ताव समितिले पास गरेको हो । 

समितिमा छलफलका क्रममा विधेयकको दफापिच्छे सैद्धान्तिक रुपमा विवाद देखिएपछि समितिका सदस्यहरूको सुझाव अनुसार विधेयक सहमतिका आधारमा टुङ्गो लगाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा नेकपा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, नेपाली काँग्रेसबाट बडू र ईश्वरीदेवी न्यौपाने, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य रहनुभएको छ ।

उपमितिलाई निजामती विधेयकमा नमिलेका विषयहरूमा सहमति जुटाएर एक महिना भित्र प्रतिवेदन समितिमा पेश गर्न समयसिमा तोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button