तपाईँ सुन्दै हुनुहुन्छः

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू यस्ता छन्

काठमाडौँ । सरकारले एउटै प्रकृतिका अलग–अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरू कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ र एउटै प्रकृतिका कामका लागी स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ ले सिफारिस गरेका सुझावहरू कार्यान्वयनको लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन कार्यदल गठन गरिने जानकारी गराउनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले वि.स २०८२ सालको वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने, नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यस्तै, सञ्चार मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने लगायतका निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button