तपाईँ सुन्दै हुनुहुन्छः

च्याउ खेतीले आत्मनिर्भर बन्दै चितवनका गृहिणी महिला 

चितवन ।  नेपालको परिवेशमा अधिकांश महिला घरधन्दामा नै व्यस्त हुने गर्छन् । चितवनमा पनि धेरैजसो महिलाको दिनचर्या घर धन्दामा मानै सीमित हुन्छन् । तर समय फेरिएसँगै उनीहरूको आवश्यकता र चाहना पनि फेरिएको छ । पछिल्लो समय युवती, महिलाहरू उद्यममा लागेसँगै चितवनका गृहिणी महिलाले पनि आफ्नो दैनिकीलाई परिवर्तन गरेका छन् । उनीहरूले समूह नै बनाएर च्याउ खेतीबाट आम्दानी गर्न थालेपछि आत्मनिर्भर उन्मुख हुन थालेका हुन् ।

रत्ननगर वडा नं–१३, कञ्चन बस्तीकी मध्यम परिवारकी पार्वती घिमिरे सधैँ घरको काममा मात्र व्यस्त हुनुहुन्थ्यो  । बिहान उठेपछि भान्सा र गोठको काममा तल्लीन हुने घिमिरेको दैनिकी हिजोआज फेरिएको छ । उहाँ सबेरै च्याउ टिप्न फार्ममा पुग्नुहुन्छ  ।घरको काम गर्दा उहाँको हातमा कहिल्यै पैसा परेन । सधैँ परिवारका सदस्यसँग भर पर्नुपर्थ्यो । अहिले गाउँका महिलाहरू मिलेर च्याउ खेती गर्न थालेपछि उहाँले पैसाको मुख देख्न पाउनु भएको हो  ।

घिमिरेजस्तै कञ्चन बस्तीका १० जना गृहिणी महिलाहरूले सामूहिकरुपमा सुरु गरेको च्याउ खेतीले उनीहरुलाई आत्मनिर्भरताको बाटोमा डो¥याएको छ । थोरै लगानी गरेर सुरु गरेको च्याउ खेतीबाट दोब्बर आम्दानी भएपछि उनीहरू उत्साहित भएका छन् । नमुना महिला विकास समूह गठन गरी उनीहरूले गत साउन महिनादेखि व्यावसायिकरुपमा च्याउ खेती सुरु गरेका हुन् । नेपाल सरकारको निजामती सेवाबाट अवकाश प्राप्त स्थानीय जयन्ती रानाभाटले समूहको अगुवाइ गरेकी छन् । समूहमा करिब दुई सय महिला आबद्ध रहे पनि जाँगरिला १० जना महिलाहरू मिलेर च्याउ खेती सुरु गरेका हुन् । च्याउ खेतीका लागि रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानस्वरुप चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । स्थानीय सरकारको चार लाख र महिलाहरूको छ लाख गरी १० लाखको लगानीमा उनीहरूले सामूहिक च्याउ खेती सुरु गरेका हुन् ।

प्रतिव्यक्ति ५०/५० हजार उठाएर लगानी गरिएको समूहकी अध्यक्ष रानाभाटले जानकारी दिनुभयो  । स्थानीय एक जना व्यक्तिको जग्गा भाडामा लिएर उनीहरूले १० वटा टनेल निर्माण गरेका छन् ।  छ महिनाको अवधिमा उनीहरूले चार लट च्याउ निकालेका छन् । ‘छ महिनामा १५ लाख आम्दानी भयो’, अध्यक्ष रानाभाटले भन्नुभयो , ‘लगानी उठाएर पनि केही पैसा बाँडफाँडसमेत गरिसकेका छौँ ।’ उनीहरूले च्याउ बिक्रीबाट भएको आम्दानीले फार्म व्यवस्थितसमेत बनाउँदै छन् । ‘लगानी उठिसकेको छ’, उहाँले भन्नुभयो, ‘अब देखिने गरी आम्दानी गर्छौं ।’

लगानीको अनुपातमा अपेक्षाकृत आम्दानी हुन थालेपछि अझै १० वटा टनेल निर्माण गर्न योजनामा उनीहरू छन् । ‘अन्य खेतीको तुलनामा च्याउ खेती गर्न सजिलो रहेछ’, उहाँले भन्नुभयो , ‘राम्ररी स्याहारसुसार गर्न सके टनेलभित्र पैसाको थुप्रो रहेछ ।’ च्याउ खेती सुरु गर्दा १० जना महिलालाई यससम्बन्धी कुनै पनि ज्ञान थिएन । ‘काम गर्दै सिक्दै गयौँ’, अध्यक्ष रानाभाटले भन्नुभयो, ‘नजान्दा नजान्दै पनि सफल भयौँ कि भन्ने लागेको छ ।’

उनीहरूले उत्पादन गरेको च्याउ बिक्री गर्न टाढा जान पर्दैन । सुरुमा अटो भाडामा लिएर बस्ती–बस्तीमा च्याउ बेच्न हिँडेका उनीहरूले उत्पादन गरेको च्याउ अहिले भने टाँडीमा रहेको तरकारी बजारका व्यापारीले सजिलै खरिद गर्छन् । अहिले १० वटा टनेलमा एक हजार पाँच सयवटा च्याउका पोका रहेका छन् । अहिले दैनिक ६० किलो बजार पठाउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button