प्रहरीको श्रमदानबाट बन्यो बसिवियालो पुस्तकालय

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा प्रहरिको श्रमदानबाट पुस्तकालय भवन निर्माण गरिएको छ। यस पुस्तकालयमा जिल्लाका नागरिकले दैनिक रूपमा आएर अध्ययन गर्न सक्ने गरी विभिन्न विधाका पुस्तकहरू राख्ने व्यवस्था गरिएको छ।
सदरमुकाम मार्तडीमा स्थानीयको पढाइप्रति आकर्षण बढाउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले “बसिवियालो” नामक पुस्तकालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो।

प्रहरी प्रमुख गिरीका अनुसार, यो पुस्तकालय भवन निर्माणको लागि उहाँको व्यक्तिगत चार लाख र अन्य प्रहरी निरीक्षकहरू तथा जवानहरूको श्रमदानबाट करिब एक करोडभन्दा बढीको लगानी गरिएको छ।
पुस्तकालयमा प्रख्यात पुस्तकहरू साथै चिया, कफी र मनोरञ्जनका लागि टेलिभिजन लगायतका सुविधाहरू पनि राखिने योजना छ। यसका साथै, अनावश्यक रूपमा हिडडुल गर्ने र फुर्सदमा रहेका नागरिकहरूले दिनभर आफूले चाहेका पुस्तकहरू पढ्न र घरमा लिएर पनि पुस्तकहरू पढ्न सक्ने व्यवस्था गर्न लागेको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो।

पुस्तकालय भवन निर्माणपछि पुस्तकहरूको व्यवस्थापन गरेर सबै नागरिकलाई सहज रूपमा पुस्तक पढ्ने अवसर प्राप्त हुनेछ। प्रहरी कार्यालय परिसरमा स्थापित पुस्तकालयले अब फुर्सदमा रहेका प्रत्येक नागरिकलाई अध्ययन गर्नका लागि एक नयाँ अवसर प्रदान गर्नेछ।
प्रतिक्रिया राख्नुहोस्