तपाईँ सुन्दै हुनुहुन्छः

मुगुका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा सोरु पहिलो, वित्तीय र संस्थागत विधामा मुगम् कार्मारोङ्ग अगाडि

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशित विवरण अनुसार सोरु गाउँपालिकाले ६१.२ अङ्क प्राप्त गरेको छ।

अन्य स्थानीय तहहरूमा मुगम कार्मारोङ्ग गाउँपालिका ४८.१ अङ्कका साथ दोस्रो, छायाँनाथ रारा नगरपालिका ४३.२ अङ्कसहित तेस्रो, र खत्याड गाउँपालिका ४२.१ अङ्कसहित चौथो स्थानमा छन्। आयोगले माघ ३० गते प्रकाशित विवरणका आधारमा प्रदेश सरकार र स्थानीय तहलाई अनुदान वितरण गर्ने जनाएको छ।

वित्तीय सुशासनमा मुगम कार्मारोङ्ग अग्रणी
वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) २०८०/८१ अनुसार मुगम कार्मारोङ्ग गाउँपालिकाले ९१.५ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। छायाँनाथ रारा नगरपालिकाले ९०.५ अङ्कसहित दोस्रो र सोरु गाउँपालिकाले ८३ अङ्क प्राप्त गरेर तेस्रो भएका छन्। खत्याड गाउँपालिकाले भने ८२ अङ्क प्राप्त गरेको छ।

संस्थागत मूल्याङ्कनमा पनि मुगम कार्मारोङ्ग पहिलो
संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ मा पनि मुगम कार्मारोङ्ग गाउँपालिका अग्रस्थानमा रहेको छ। उक्त गाउँपालिकाले १० विषयमा गरिएको मूल्याङ्कनमा ८९ अङ्क प्राप्त गरेको छ। खत्याड गाउँपालिकाले ८५.५ अङ्क ल्याएर दोस्रो, छायाँनाथ रारा नगरपालिकाले ८४.२५ अङ्कसहित तेस्रो, र सोरु गाउँपालिकाले ८१.२५ अङ्क ल्याएको छ।

यस्ता मूल्याङ्कनले स्थानीय तहहरूको कार्यक्षमता र सुशासनमा सुधार गर्न थप प्रोत्साहन दिने आयोगको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button