तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको विकट गाउँमा अफिमकाे अवैध खेती

जाजरकोट । जाजरकोट जिल्लाका गाउँगाउँमा यतिवेला अफिम खेती अवैध रुपमा फैलिएको छ। स्थानीयवासीहरुले अफिम खेतीलाई व्यापक रूपले अपनाएका छन् र यो खेती जाजरकोटको विभिन्न विकट र उच्च भुभागमा गरिएको पाइएको छ।

जिल्लाको नलगाड नगरपालिका १ देखि १३ वटै वडामा अफिम खेती व्यापक रूपमा गरिएको छ । अफिम उत्पादनको यो गतिविधि गत वर्षभन्दा यस वर्ष अझ बढेको देखिन्छ। कात्तिक महिनामा रोप्ने र बैशाख तथा जेठ महिनामा संकलन गर्ने परम्परा रहेको छ। व्यापारीहरूले गाउँमै पुगेर स्थानीयलाई बीउ उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गरेको स्थानीय स्रोतले जानकारी दिएको छ। अफिमको मूल्य प्रति किलो ८० हजार देखि १ लाख रुपैंया सम्म रहेको बताइएको छ।

नलगाड ९ वडाका एक स्थानीयका अनुसार, त्यहाँ २० जनाभन्दा बढी स्थानीय व्यक्ति अफिम खेती र यसको कारोबारमा संलग्न रहेका छन् र धेरैजसो भारतीय र नेपाली जेलमा पनि कारागार जीवन विताइ रहेका छन्। यसका बाबजुद, स्थानीयलाई अफिमको खेती र व्यापार गर्न नहुने बारेमा चेतावनी दिइए पनि उनीहरूले त्यसको पालना गर्न इन्कार गर्दै छन्।

नलगाडको सिउन, रुप, गेउ, औलगुता, खातीगुर्ता, लेखतीर, वानीयागाउँ, रावतगाउँ, ध्यारगाउँ, ताँत्र, घरंगा, लुपाना, भरगाउँ, मुकसिरी, नहकुली लेक, किटेनी, द्वारे, भदाले, करुवा कट्के, चच्चुलाइना, प्यारगारा लगायतका स्थानमा अफिम खेती गरिएको देखिन्छ। स्थानीयहरूले आर्थिक प्रलोभनमा परी यसका उत्पादनमा अझ बढी जोड दिएको पाइन्छ।

लागू औषध अफिमको उत्पादन र विक्री वितरण कानूनी रूपमा निषेधित भएको भएता पनि स्थानीयवासीहरूले त्यसको उल्लंघन गरेका छन्। यस विषयमा प्रहरी प्रशासन भने मौन बनेको देखिन्छ, जसले यस अवैध गतिविधिको नियन्त्रण गर्न कुनै विशेष कदम नचालेको आरोप छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button