बाँकेमा एचपिभी खोप अभियान : तीन दिनमै ५५ प्रतिशत बालिकाले लगाए खोप
बाँके । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको तीन दिनमै बाँके जिल्लामा ५५ प्रतिशत बालिकाले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी नगरपालिकामा पहिलो चरणअन्तर्गत १३,६१९ जना बालिका तथा किशोरीहरूले खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, चार पालिकामा लक्षित २४,५८९ जना बालिका तथा किशोरीमध्ये ५५ प्रतिशतले खोप लगाइसकेका छन्। नेपालगन्जमा ५,२५२, कोहलपुरमा ४,५४८, खजुरामा २,६०२ र जानकीमा १,२१७ जना बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनुभएको छ।
स्वास्थ्य कार्यालयले खोप अभियानमा सबै धर्म तथा समुदायका बालिकाहरूको उत्साहजनक सहभागिता रहेको र अभियान शतप्रतिशत सफल हुने अपेक्षा गरेको छ।
पहिलो चरणअन्तर्गत माघ २२ गतेदेखि माघ २९ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी नगरपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। दोस्रो चरणमा फागुन १ देखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने योजना छ।
अभियानलाई प्रभावकारी बनाउन बाँके जिल्लामा ५२४ वटा खोप केन्द्र स्थापना गरिएको छ, जसमा २७६ विद्यालय, ८१ स्वास्थ्य संस्था तथा अन्य १२६ खोप केन्द्र रहेका छन्। साथै, अभियान सफल पार्न ५२४ स्वास्थ्यकर्मी र १,०४८ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका बालिकाहरू र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएको छ। फागुन ६ गतेसम्म सञ्चालन गरिने यो अभियानलाई सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
प्रतिक्रिया राख्नुहोस्