वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बस्ती बस्तीमा अभिमुखीकरण

नेपालगञ्ज । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । बढ्दो बेरोजगार समस्याका कारण विशेष गरी ग्रामीण क्षेत्रका युवाहरू विदेश गइरहेका छन् । रोजगारीका शिलशिलामा यसरी विदेशीरहेका युवाहरू गन्तव्यमा पुगिसकेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचारहरू पनि आइरहेका हुन्छन् । तिनै दुःख र पीडा खेप्न नपरोस् भन्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाभित्रका स्थानीयबासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्यूनतम सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ ।
कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वडाका विभिन्न बस्तीहरूमा वैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरूलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदायस्तरमा पुगेर जानकारी गराउने काम भइरहेको हो ।
रोजगार सेवा केन्द्र कोहलपुरको आयोजनामा विभिन्न बस्तीहरूमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्यूनतम सूचना तथा जानकारी र वैदेशिक रोजगार सम्बन्धि सेवाहरू प्रदान गर्न विभिन्न सरोकारवालाहरूको सेवा तथा सम्पर्क ठेगानाहरूको बारेमा जानकारी दिने उद्देश्यले गहन अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको रोजगार सेवा केन्द्रका रोजगार संयोजक आशिष बर्माले जानकारी दिनुभयो ।
‘“वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी, श्रमिक वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्य, वैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्ति तथा तिनका परिवारसम्म सुरक्षित, लाभदायक तथा सामाजिक लागत न्यून बनाउन आवश्यक वैदेशिक रोजगारीको लागि आधारभूत सूचना तथा जानकारी दिन आवश्यक छ”, उहाँले भन्नुभयो– “हाम्रो टिमले बस्ती बस्तीमा पुगेर अहिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उपायबारे जानकारी गराइरहेको छ । यसले न्यूनतम जानकारीको कमीको कारणले वैदेशिक रोजगारीको प्रक्रियामा झमेला, दुःख तथा ठगीमा पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।”
वैदेशिक रोजगारीको पूर्व तयारी तथा योजनाको अभावले गर्दा वैदेशिक रोजगारीबाट सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्था छ । कम्तीमा न्यूनतम सीप सिकेर विदेश जाने प्रवृत्तिलाई प्रेरित गर्न पनि अभिमुखीकरण कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्दै आएको संयोजक वर्मा बताउनुहुन्छ ।
सामी कार्यक्रमका स्वयंसेवकहरू मानबहादुर वली र बसन्ती डाँगीले समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारका विभिन्न आयामहरूबारे जानकारी गराउने काम गरिरहनुभएको छ ।
हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३ मा अभिमुखीकरण भइसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्