तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले लोकतन्त्र ल्याउन रेडियोको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्य तारा बहुउद्देश्यीय सहकारीको २७औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सञ्चारमाध्यम नै प्रजातन्त्रको ठूलो सम्पत्ति भएको बताउनुभयो । मुख्यमन्त्री लामाले प्रदेशमा रहेका सञ्चार माध्यमको वृत्तिविकासका लागि सरकार सदैव तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले पछिल्लो समय सञ्चार माध्यमको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै भूगोल र बजारअनुसार मिडिया हुन आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले समाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डर त्रासमा बस्नु नपर्ने बताउनुभयो । उहाँले पत्रकारसहित आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी प्रशासन सदैव तयार रहेको बताउनुभयो ।

रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । दुई जनालाई सामुदायिक सम्मान २०८१ प्रदान गरियो ।

बकैया गाउँपालिका—४ का विक्रम कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर मकवानपुरलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र हेटौँडा उपमहानगरपालिका–१, स्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीलाई पनि शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका लागि नगद रु १०/१० हजारसहित सम्मान गरिएको थियो ।

यसैगरी, रेडियोले कर्मचारी सम्मानबाट एलिश लुइँटेललाई नगद रु सात हजारसहित सम्मान गरेको रेडियोका व्यवस्थापक गणेश दर्पण अधिकारीले जानकारी दिनुभयो । त्यस अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button