‘सङ्कल्प प्रस्ताव प्रभावकारी कार्यान्वयन आवश्यक’
काठमाडौँ । प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा सम्बोधन सम्बन्धी राष्ट्रियसभाबाट पारित सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
महिला कानुन र विकास मञ्च (एफडब्लुएलडि) ले पारित सङ्कल्प प्रस्तावका विषयमा गरेको छलफलमा सांसद पदमबहादुर परियार, रेनु चन्द र रोश्नी मेचे उक्त प्रस्तावको महत्व र कार्यान्वयनमा जोड दिनुभयो ।
उहाँहरूले सङ्कल्प प्रस्तावलाई कागजमा मात्रै सीमित नगराई प्रभावकारी कार्यान्वयन गर्न सुझाव प्रस्तुत गर्नुभयो । सांसदत्रयले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, कृत्रिम बौद्धिकता (एआई), डाटा दुरुपयोग, साइबर स्टकिङ, डिपफेक, डिजिटल निगरानी, अनलाइन उत्पीडन, चरित्रहत्या तथा निजी सामग्रीको अनधिकृत प्रसारण जस्ता माध्यमबाट हुने लैङ्गिक हिंसाका नयाँ स्वरूप तीव्र रुपमा वृद्धि भएकाले व्यवस्थापन गर्न सङ्कल्प प्रस्ताव बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रियसभा सदस्य चन्दले सरकारले सामाजिक सञ्जालको व्यवस्थापनमा जबाफदेही बनाउन यस्तो सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद परियार र मेचेले प्रविधिलाई समाजमैत्री बनाउन सरकारको जबाफदेहिता आवश्यक रहेको जनाउँदै त्यसका लागि कानुनी व्यवस्था तीन–तीन महिनामा सरकारले सदनलाई जानकारी गराउनुपर्छ भन्नुभयो ।
सञ्चारीका समूहका अध्यक्ष कमला पन्थी सङ्कल्प प्रस्तावका प्रभावकारी कार्यान्वयनबाट डिजिटल हिंसाका पीडितले न्याय पाउन सक्ने सम्भावनातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले सङ्कल्प प्रस्तावलाई प्रभावकारी कार्यान्वयन गराउने हो भने डिजिटल हिंसा रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरीको २०८१/८२ को तथ्याङ्कले १८ हजार ९२६ उजुरी डिजिटल हिंसा सम्बन्धी दर्ता भएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्