तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ । 

नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारबाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारबाही गरिएको हो ।  

त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ र पुरानो २८ वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौलयन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा  विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार नौ सय ६७ राजस्व सङ्कलन गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button