रारा राष्ट्रिय निकुञ्जमा चोरी सिकारीमा संलग्न दुई जना पक्राउ
मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत संरक्षित पक्षी डाँफे र अन्य वन्यजन्तुहरूको अवैध शिकार गर्ने दुई जना पक्राउ परेका छन्। उनीहरूलाई भरुवा बन्दुक प्रयोग गरी चोरी सिकारी गर्दै गरेको अवस्थामा निकुञ्जका कर्मचारी र श्री हनुमानध्वज गुल्मको संयुक्त टोलीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा निकुञ्ज क्षेत्र भित्र विशेष अपरेशन सञ्चालन गरिएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का २६ वर्षीय मान बहादुर कठायत र ३९ वर्षीय गोरे कठायतसँग विभिन्न प्रमाणहरू बरामद गरिएको छ। बरामद गरिएका सामग्रीहरूमा तीन वटा मृत डाँफे, तीन वटा मृत फक्रास, भरुवा बन्दुक, गोली, बारुद र अन्य सामग्रीहरू रहेका छन्। वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले यसबारे जानकारी दिएका छन्।
उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कानुनी कारबाही अघि बढाइएको छ। स्थानीय बासिन्दाले चिसो मौसममा जङ्गलमा झरेका पक्षीहरू असुरक्षित हुने भएकाले चोरी सिकारीका घटनाहरू बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। यस्ता घटनाले राष्ट्रिय पक्षी डाँफे लगायत अन्य दुर्लभ वन्यजन्तुहरूको अस्तित्वलाई खतरामा पार्न सक्छ, यसकारण कडा कारबाहीको माग गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्