तपाईँ सुन्दै हुनुहुन्छः

हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन: मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु नपर्ने बताउनु भएको छ ।

न्यु होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औँ वार्षिकोत्सवकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताउनु भएको हो । `म विद्यार्थीहरुलाइ भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन´उहाँले भन्नुभयो-`आफ्नै देशको भूमिमा अवसरहरूको सृजना गर्न, नव प्रवर्तनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरू छन् । देशलाई तपाईँहरूको योगदानको खाँचो छ ।´ लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको समेत बताउनुभयो । `समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानकाे विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ´उहाँले भन्नुभयो- `एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।´ प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाई अघि बढाउन नसक्ने, निजी क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । प्रदेश सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पार्नु भयो ।

न्यु हाेराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको, लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरूले धेरै कुरा सिक्न सक्ने, विद्यालयलाई एउटा अध्ययन केन्द्रको रूपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो । 

वि.सं. २०५६ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै परीक्षाहरू भए । त्यसको नतिजा हेर्ने हो भने पनि विद्यालयले आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button