लागुऔषध नियन्त्रण गर्नेक्रममा ४ राउण्ड गोली प्रहार, एक जना घाइते
नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२, पचगावामा लागुऔषध नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। जिल्लाका सुरक्षा निकायहरूले लोनियाको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर उक्त घरमा छापा मारेका थिए।
प्रहरीका अनुसार, लोनियाले भाग्नको प्रयास गर्दै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीको आत्मरक्षाका लागि गोली चलाइएको हो। ५२ वर्षीय राजेश लोनिया घाइते भएका छन्, जसको बायाँ खुट्टामा गोली लागेको छ। उनलाई प्राथमिक उपचारको लागि जिल्ला अस्पताल परासीमा ल्याइएको थियो, र पछि थप उपचारको लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा लगिएको छ।
प्रहरीको टोलीले लोनियाको घरबाट ९३ पुरिया ब्राउन सुगर पनि बरामद गरेको छ। लोनिया यसअघि २०७८ सालमा लागुऔषध कारोबारमा संलग्न भएको भन्दै सजाय भोगेका व्यक्ति हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनु भएको छ।
प्रतिक्रिया राख्नुहोस्