तपाईँ सुन्दै हुनुहुन्छः

२८ महिनाको तलब नपाएको भन्दै माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर आन्दोलनमा

चितवन । मदिराजन्य उत्पादन गर्ने चितवनको माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर तथा कर्मचारीले तलबको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरूले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर २८ महिना देखिको तलब नपाएको भन्दै निरन्तर आन्दोलन र दबाब दिँदै आएको   बताए । एक बर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढ सय भन्दा बढी मजदुर तथा कर्मचारीको तलब, सञ्चयकोष उपादान नदिएपछि उनीहरू आन्दोलनमा आएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका संयोजक माधव प्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरू आन्दोलनमा उत्रनु परेको बताउनु भयो  । ‘हाम्रो एकै व्यक्तिको तलब न्यूनतम १५ लाख भन्दा बढी छ । हामीले बारम्बार अनुरोध ताकेता गर्‍यौँ । तर कम्पनीले कसैको पनि कत्ति पनि पैसा दिएन ।’ संयोजक पौडेलले भन्नुभयो । 

पौडेलले तलबको लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिँदा पनि हालसम्म माग सुनुवाई नभएको  बताउनु भयो  । ‘हामीले श्रम कार्यालय हेटौँडामा पनि उजुरी दर्ता गरेका छौ। उद्योगको बैङ्क खाता पनि रोक्का गरेका छौँ । सबै निकायमा पनि दबाब दिँदै आएका छौँ । तर कुनै सुनुवाई भएको छैन ।’ पौडेलले भन्नुभयो  । यो अवधिमा तीनजना मजदुर दुर्घटना र  बिरामी भएर उपचार खर्च पनि नदिँदा मृत्यु वरण गर्नुपरेको उहाँको भनाई थियो  । उद्योगले तलब दिने आश्वासन दिएर अन्योल सिर्जना गरिंदिदा अन्यत्र समेत काम गर्न नपाएको र आफूहरूको दैनिकी समेत चलाउन धौधौ परेको उहाँले गुनासो गर्नुभयो । 

आन्दोलनका सह–संयोजक सिताराम पुडासैनीले उद्योग लिलामी गरेर भएपनि आफूहरूको तलब पाउनु पर्ने बताउनु भयो  । ‘कि लिलामी गरेर हामीले पाउनु पर्ने बक्यौता तलब पाउनु पर्‍यो । कित उद्योग सञ्चालन गरेर तलब नियमित गर्नुपर्‍यो ।’ पुडासैनीले भन्नुभयो । उद्योगले गर्नुपर्ने सम्झौता बमोजिम कार्यान्वयन गर्न गराउन उहाँले सरकारसँग पनि  आग्रह गर्नुभयो  । उद्योगले कर कार्यालयलाई तिर्न १ अर्ब भइसक्यो, विद्युतको विल ४५ लाख भन्दा माथि भइसक्यो होला , उहाँले भन्नुभयो , सरकारले यो सँगै हाम्रो गुनासोलाई पनि सम्बोधन गर्नुपर्‍यो र सरकारको राजश्व पनि उठोस् भन्ने पनि हाम्रो चाहना हो ।’

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा  पाँच विघा क्षेत्रफलमा सञ्चालन हुँदै आएको उक्त ब्रुअरी २०४७ बाट सञ्चालनमा आएको हो । यो उद्योगले शुरुमा सामिग्यल वियरको उत्पादन गर्दै आएपनि पछिल्लो बर्ष  गोल्डेन टाइगर, एभरेष्ट बियर र राइनो बियर उत्पादन गर्दै आएको थियो । गत वर्षदेखि उद्योगको उत्पादन तथा बिक्री वितरण पूर्णरुपमा बन्द छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button