नाग्म-गमगढी सडक विस्तारमा उदासीनता, बजेट फ्रिज, यात्रुलाई सास्ती
मुगु । कालीकोटको नाग्मदेखि मुगुको गमगढीसम्मको ९६ किलोमिटर लामो सडक स्तरोन्नतिको काम सरकारको उदासीनताले प्रभावित भएको छ। सरकारले वर्षेनी यसका लागि बजेट छुट्टाए पनि कामको गति अत्यन्तै धीमा भएको छ, जसले गर्दा यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपर्ने अवस्था छ।
“कर्णाली राजमार्गको दुरावस्थाका कारण गाडी महँगो भए पनि सुरक्षित र सहज यात्राको लागि हवाई मार्ग रोज्न बाध्य भएका छौं,” एक यात्रीले गुनासो गरे। कर्णाली बासीलाई महँगो भाडामा गाडीभन्दा प्लेन चढ्नु कुनै रहर नभई बाध्यता बनेको छ।
हरेक वर्ष निर्माण कम्पनीहरूले विभिन्न कारण देखाउँदै विनियोजित बजेट खर्च गर्न नसक्ने, बजेट फ्रिजमा जाने र म्याद थपेर दायित्व भुक्तानीका लागि पहल गरिने प्रचलनले यो सडकको निर्माण कार्यलाई ठप्प बनाएको छ।
चालू आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १५ करोड रुपैयाँ बजेट छुट्याए पनि सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ कि अहिलेसम्म टेण्डर प्रक्रिया अघि नबढाइएपछि काम रोकिएको छ। जुम्ला कार्यालयका सूचना अधिकारी सुरेन्द्र चौधरीले भने, “नयाँ टेण्डरका लागि सरकारले बजेटको माग गरेको छ, तर अहिलेसम्म बजेट प्राप्त भएको छैन। यदि यो सडक सरकारको प्राथमिकतामा पर्नेको हो भने, यो परियोजना पहिले नै पूरा भइ सकेको हुन्थ्यो।”
सडक निर्माणका लागि खड्का कृष्ण गालावा क्याराभान जेभी (काठमाडौं), शंकरमाली निर्माण सेवा (काठमाडौं), र विकास श्रेया जेभी (चंखेली, हुम्ला) का निर्माण कम्पनीहरूले जिम्मेवारी पाएका थिए। तर, ठेकेदारहरूको लापरवाही र बजेटको अपर्याप्तता सहितका कारणहरूले गर्दा हरेक वर्ष रकम फ्रिज हुँदै आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।
यात्रुहरूलाई सहज यातायात सेवा प्रदान गर्न सरकार र निर्माण कम्पनीहरूको जिम्मेवारीप्रतिको उदासीनताले यो क्षेत्रको समग्र विकासमा ठूलो अवरोध पुर्याएको छ।
सडक विस्तार र स्तरोन्नतिको गतिलाई तीव्र बनाउन, बजेटको साँचो व्यवस्थापन र कडा अनुगमन आवश्यक छ, जसले गर्दा यात्रुहरूले सुरक्षित र सहज यात्रा गर्न सकून्।
प्रतिक्रिया राख्नुहोस्