तपाईँ सुन्दै हुनुहुन्छः

सिमान्तकृत सन्थाल समुदायले मनाए ‘सोहराय’ पर्व

झापा । झापामा सबैभन्दा धेरै बसोबास रहेको सिमान्तकृत आदिवासी सन्थाल समुदायले आज मौलिक सोहराय पर्व मनाएका छन् ।

सन्थाल समुदायले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमका साथ झापामा यो पर्व मनाएका हुन् । को अवसरमा झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । आज सोहरायको पहिलो दिन हो ।

सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कनकाई नगरपालिकामा सन्थाल समुदायको बसोबास रहेको छ ।

आज सन्थाल समुदायको बसोबास रहेको झापाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका थिए ।

सन्थाल समुदायले यो पर्व छ दिनसम्म मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव मुर्मूले जानकारी दिनुभयो । उहाँका अनुसार सोहरायको पहिलो दिनलाई ‘उम’ भनिन्छ भने दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिन्छ । सन्थाल समुदायले यो पर्व ‘सारना’ (बिदिन) धर्म अन्तर्गत रहेर मनाउने गरेको पनि उहाँले बताउनुभयो ।

झापामा सन्थाल समुदायको जनसङ्ख्या करिब ३७ हजार रहेको बताइन्छ ।

के हो ‘सोहराय’ पर्व
सोहराय पर्व सन्थाल जातिहरूको धार्मिक पर्व हो । सन्थालहरूको चाड सँगसँगै अन्नबाली संरक्षण र गाई वस्तुहरूको सम्मान गर्ने पर्वका रुपमा समेत यो पर्वलाई लिइने गरिएको छ । सोहराय शब्दको उत्पत्ति ‘साहाराय’ बाट अपभ्रंश भएर ‘सोहराय’ भएको हो ।

नेपालमा बसोबास गर्ने सन्थाल समुदायले यो पर्व गाउँको समय अनुकूल पुस महिनाको अन्तिममा मनाउँछन् भने कसैले माघ महिनाको पूर्णिमा र कसैले फागुनको पूर्णिमासम्म मनाउने गरेका छन् । सन्थाल समुदायले यो पर्व ‘सारना’ (बिदिन) धर्म अन्तर्गत रहेर यो पर्व मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button