तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पार्टी प्यालेसको रकम चोरी गर्ने २ जना पक्राउ 

पोखरा । पोखरामा पार्टी प्यालेसको रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् । पोखरा सिर्जनाचोक स्थित साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको काठको र्‍याकमा राखेको रकम चोरी गरेको आरोपमा पन्देही देवदह नगरपालिका वडा नं.१० का २२ वर्षका ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका वडा नं.३ की २९ बर्षकी पुजा श्रेष्ठलाई प्रहरीले उक्त रकम चोरीको आरोपमा पक्राउ गरेको हो । 

पोखराको साइमन पार्टी प्यालेसका पूर्व कर्मचारीको रुपमा रहेका उहाँहरूको साथबाट प्रहरीले १२ लाख ५२ हजार ५ सय ८० रुपैयाँ सहित ३ थान मोबाइल सहित पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त पार्टी प्यालेसबाट १४ लाख ७४ हजार चोरी भएको पार्टी प्यालेसका सञ्चालक मध्यका एक विनोदराज पौडेलले बताउनु भयो । 

वडा प्रहरी कार्यालय बैदामको समन्वयमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा आइतबार रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं.११ कालिका नगरको होटलबाट नगद सहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा आइतबार देखि लागु हुने गरी ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताउनु भयो । 

उक्त पार्टी प्यालेसमा दुवै जनाले काम गर्दै आए पनि कामबाट माघ ८ गते  छाडेका उहाँहरूले योजना बनाई उक्त रकम चोरेको हुन सक्ने सञ्चालक पौडेलले बताउनु भयो । १२ बर्ष देखि उक्त स्थानमा पैसा राख्दै आएको भए पनि पहिलो पटक चोरी भएको उहाँले जनाउनु भयो । पक्राउ परेका पूर्व कर्मचारीबाट प्रहरी मार्फत बरामद गरिएको रकम मध्य २ लाख २१ हजार रुपैयाँ अपुग भएको पौडेलले उल्लेख गर्नुभयो । माघ ११ गते राति उक्त रकम चोरेर रुपन्देही फरार भएका दुई जनालाई प्रहरीले दुई दिन पछि विशेष अनुसन्धानबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button