तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्दको घाउ सधैँकालागि मेटाउने योजना कार्यान्वयनमा आउँछन्: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउ सधैँकालागि मेटाउने गरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । 

अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति सँगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनु भएको हो । 

‘द्वन्दको घाउ सधैँकालागि मेटाउने गरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमानै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पुर्याएको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश स्थापना भए देखिनै द्वन्द्व पीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादन सँग जोड्न सिपमूलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरूले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’ द्वन्द्व पीडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको भनाई उहाँको छ ।‘यही सरकारले नै टिआएरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतिको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरूलाई थाहा छदैछ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षति व्यहोरेको मध्येमा पर्छ । 

सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’ संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरी सुनारले परिपुरणका योजना सँग जोडिएका विषयहरू समेटिएको ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । विभिन्न उपयुक्त स्थानमा सहिद स्मारक शान्ति पार्क निर्माण, आर्थिक सहायता लगायतका विषयहरू समेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button