बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिकाको संगमस्थल झुगलामा पक्की पुल बन्दै

मुगु । कर्णाली करिडोर अन्तर्गत बाजुराको हिमाली गाउँपालिका वडा नं २ र मुगुको खत्याड गाउँपालिका गाउँपालिका वडा नं ८ को संगमस्थल झुगलामा १०५ मिटर लामो पक्की पुलको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।
पुल निर्माणपछि मुगुको पश्चिमी खत्याड क्षेत्र हुँदै नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा तथा मुगुको सदरमुकाम गमगढी पुग्न करिब ५० देखि ६० किलोमिटर दूरी घट्ने निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माण भएसँगै हालको कर्णाली राजमार्गको तुलनामा यात्रुहरूको समय र खर्च बचत हुने विश्वास लिइएको छ। १६ करोडभन्दा बढीको लगानीमा निर्माणाधीन यो पुल सम्पन्न भएपछि स्थानीय बासिन्दा र पर्यटकहरूलाई कर्णाली करिडोर प्रयोग गर्न थप सजिलो हुनेछ। यस्तो संरचनाले समग्र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

पुल निर्माणको जिम्मेवारी कन्काई, कुशेश्वर, निशान जेभी काठमाडौँले पाएको छ। कम्पनीका निर्देशक जयराम घलेका अनुसार पुल निर्माणका लागि २०७८ मङ्सिर १४ गते सम्झौता गरिएको थियो भने २०८१ असोज १ गतेबाट काम सुरु गरिएको हो। तर पुलको डिजाइन पास गर्न अधिक समय लागेकाले निर्माण समय तालिका प्रभावित भएको छ। निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि २०८३ जेठ ३० गतेसम्म समय थपको माग गरिएको कम्पनीले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयले यसअघि २०८१ चैतसम्म ४ महिनाको म्याद थप सिफारिस गरेको थियो। तर चैतपछिको समय थप स्वीकृत नभए पुल निर्माण कार्य अनिश्चित बन्न सक्ने निर्माण पक्षको भनाइ छ।







प्रतिक्रिया राख्नुहोस्