‘सात बुँदे सहमतिअनुसार नै सरकारले काम गरिरहेको छ’
धनगढी । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सरकार सात बुँदे सहमतिअनुसार अघि बढिरहेको बताउनुभएको छ ।
धनगढीमा आज प्रेस चौतारी नेपाल कैलालीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रमुख गौतमले राजनैतिक स्थायित्व (स्थिर सरकार), सुशासन र आर्थिक समृद्धिका लागि काँग्रेस र एमालेका बीच सात बुँदे समझदारी भएको र सरकारले समझदारीअनुसार काम गरिरहेको बताउनुभयो ।
प्रचार विभाग प्रमुख गौतमले वर्तमान सरकारले अर्थतन्त्रलाई लयमा फर्काउँदै सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय महत्वकाक्षा हासिल गर्नका लागि लागिपरेको बताउनुभयो ।
“एमाले संविधान संशोधनप्रति दृढ छ, प्रत्येक १० वर्षमा संविधान संशोधन गर्ने संवैधानिक व्यवस्था छ, सरकारले संविधान संशोधन अघि बढाएको छ, संशोधन अहिले संसद्मा लैजान परिपक्व भएको छैन, आन्तरिक छलफल भइरहेको छ।”, उहाँले भन्नुभयो ।
प्रचार विभाग प्रमुख गौतमले सरकारले रोजगारीको सृजना, डेलीभरी, सुशासन र अर्थतन्त्रलाई गति दिने गरी अध्यादेश ल्याएको र त्यसको समर्थन तथा स्वागत भइरहेको बताउनुभयो ।
उहाँले नेपाली पत्रकारिता क्षेत्रमा अहिले सबैभन्दा ठुलो चुनौती पुँजी विहीनताको अवस्था रहेको बताउनुभयो । उहाँले प्रेस चौतारी र समाजवादी प्रेस सङ्गठन एकतामा रहेकाले एकताको अनुभूति हुनेगरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घमा निर्वाचित प्रेस चौतारीकर्मीलाई सम्मान गरिएको थियो ।
जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्