राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
रुपन्देही । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताउनुभएको छ। उहाँले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दाबी गर्नुभयो ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने स्पष्ट पार्नुभयो। उहाँले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको बताउँदै सुशासन कायम नगरेसम्म देशको विकास हुन नसक्ने धारणा राख्नुभयो ।
मन्त्री गुरुङले कानुनी शासन लागू नभए समस्याहरू थपिएको बताउँदै मुलुकमा सुशासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजिएको जानकारी दिनुभयो । साथै, उहाँले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको उल्लेख गर्दै देशको तहसनहस भएको अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले सरकार बनेदेखि विकासका कामले गति लिएको बताउँदै सत्तारूढ दलभित्र कुनै विमति नरहेको बताउनुभयो । सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले लागिरहेको उहाँको भनाइ थियो । रूपन्देहीको देवदहमा मेला उद्घाटनमा आउनुभएका मन्त्री गुरुङ आजै काठमाडौँ फर्कनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्