राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव बिहीबारदेखि हुने
पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ भोलि (बिहीबार) देखि पोखरामा सुरु हुने भएको छ ।
पोखराको नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा ३३ औँ संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा १२ औँ क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ समेत हुने भएको पोखरा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
पृथक् एवं चलायमान अर्थतन्त्रको आधारशिला एवं नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य लिएको संघका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो । मेलामा गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरूलाई पनि समावेश गर्ने भएको अध्यक्ष कार्कीले जनाउनुभयो ।
मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने गरी आयोजना गरिएको सङ्घले जनाएको छ । सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन, त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकारलाई समेत मेलामा समावेश हुनेछन् ।
क्यान कास्कीसँगको सहकार्यमा यही मेलामा समाहित गरिएको १२ औँ क्यान इन्फोटेक २०२५ अन्तर्गत मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो पटक आएका आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने छन् ।
मोबाइल वितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोबाइल एक्सपो अन्तर्गत मोबाइलहरूमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्था सहित एक्सचेञ्ज अफर, किस्तामा मोबाइल फोन खरिदको सुविधा, एसोसरिजहरुको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोबाइल डोर प्राइसको रुपमा वितरणको व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्