पिएसबीमा प्रविधि रूपान्तरण र आर्थिक सुनिश्चितता: चुनौती र अवसर
'नवीनतम प्रविधिको प्रयोगबाट दर्शक र श्रोताका मन छुने कार्यक्रम उत्पादन गर्न सुझाव '
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले आधुनिक प्रविधिलाई अवसरका रुपमा उपयोग गर्दै नयाँ युग अनुसार आफूलाई प्रविधिमार्फत रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसवी) नेपालको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज आयोजित प्रविधि रूपान्तरण विषयक छलफलमा सहभागीहरूले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो पुरानो इतिहासलाई कायम राख्दै नवीनतम् प्रविधिको अधिकतम प्रयोग गरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले प्रविधि छिनछिनमा परिवर्तन भइरहने भएकाले सूचनाहरू सबैको पहुँचमा पुर्याउन पिएसवि नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले डिजिटल नेपाल फ्रेमवर्क सरकारको प्राथमिकतामा रहेको र अबको आवश्यकता पनि डिजिटलाइज्ड नै भएकाले पुराना प्रविधिको प्रयोगसँगै आधुनिक प्रविधि अपनाएर पिएसवि नेपाल अगाडी बढ्नुपर्ने र त्यसका लागि आवश्यक थप योजना बनाउन राष्ट्रिय योजना आयोग र पिएसवी नेपाल छलफलका माध्यमबाट सँगसँगै अगाडी बढ्न सक्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले पिएसवी नेपालले आफ्नो प्रसारण सबै उपभोक्ता सम्म निःशुल्क पुर्याउनका लागि भूसतही, स्याटलाइट लगायतका सबै प्लयाटफर्म प्रयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको सबै स्थानमा आफ्नो पहुँच विस्तारका लागि आधुनिक प्रविधिको प्रयोग गरेर पिएसवीले आफ्नो सेवा नागरिक केन्द्रित बनाउनुपर्ने र जोड त्यसका लागि नीति निर्माण र कार्यान्वयनमा मन्त्रालय तयार रहेको रहेको बताउनुभयो ।
नेपाल टेलिकमका महाप्रबन्धक संगीता पाहारीले पिएसवि नेपालले ग्राहकको आवश्यकता अनुसारको विषयवस्तु निर्माण गरी ओटीटी प्ल्याटफर्मका माध्यमबाट नागरिकको हातहातमा आफ्नो प्रसारण पु¥याउन सक्ने बताउनुभयो ।
नेपाल टेलिकमको सेवा हालसम्म ७ सय ४३ वटा स्थानीय तहमा पुगिसकेको अवस्थामा पिएसवि नेपालको पूर्वाधार विकासमा नेपाल टेलिकमले आवश्यक सहकार्य गरेर अगाडी बढ्न सक्ने बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसवीले आफ्ना उत्पादित विषयवस्तु सबै सामु छिटो पुर्याउनका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले गुणस्तरीय प्रसारण र नवीनतम् प्रविधिको प्रयोग नै पिएसवीको मुल उद्देश्य रहेको भन्दै यसतर्फ सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले दूरसञ्चारले सिर्जना गर्ने ब्यान्डविथका माध्यमबाट पिएसवीका विषयवस्तु प्रभावकारी रुपमा सबै नागरिक सामु पुर्याउन सकिने बताउनुभयो ।
उहाँले पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढी भएको अवस्थामा अबको प्रविधि ओटीटी प्ल्याटफर्म नै भएको र त्यसका लागि सम्बन्धित सबै पक्ष मिलेर अगाडी बढ्न सके कम खर्चमा जनतासम्म पिएसवीको प्रसारण पुर्याउन सकिनेमा जोड दिनुभयो ।
सूचना तथा प्रविधि विज्ञ करुण थापाले रेडियो र टेलिभिजनमा रहेका पुराना विषयलाई आधुनिक प्रविधिको प्रयोगबाट डिजिटलाइजेसन गर्नुपर्ने र पिएसवीले उपभोक्ता केन्द्रित विषयवस्तु उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले आधुनिक प्रविधिमा नेपालले धेरै काम गर्न बाँकी रहेको भन्दै सबै पक्ष मिलेर अगाडी बढ्ने हो भने हाम्रो लागि प्रविधि चुनौती नभएर अवसरको रुपमा रहेको बताउनुभयो ।
छलफल कार्यक्रमका सहभागीहरूले आधुनिक प्रविधिको प्रयोग गरेर अगाडी बढ्नका लागि सबैभन्दा पहिले आन्तरिक रूपबाट नै डिजिटलाइज्ड हुन जरुरी रहेकोमा जोड दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालको माघ १ गतेदेखि शुरु भएको पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलहरू भइरहेका छन् । छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडी बढ्नका लागि मार्ग निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्