भारतमा सात वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या
सुर्खेत । भारतको बैंगलोरमा सात बर्षीया एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ ।
बैंगलोरको बानसबाडीमा निर्माणाधीन अपार्टमेन्टमा चौकीदारको काम गर्दै आएका आफ्ना बाआमासँगै कोठामा बस्दै आएकी कालीकोटको नरहरिनाथ गाउँपालिका–४, रुपसा अदेलाकी ७ वर्षीया रश्मि बोकटीको बलात्कारपछि हत्या भएको हो । बलात्कारपछि हत्या आरोपमा बैंगलोरको राममूर्ति नगर थाना प्रहरीले सोही निर्माणाधीन अपार्टमेन्टमा मजदुरी गर्ने २५ वर्षीय अभिषेक कुमार सहित तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
राममूर्ति नगर थाना प्रहरीका अनुसार कालीकोट नरहरिनाथका देवेन्द्र बोकटी र उनकी श्रीमती सुशीला कुँवर (बोकटी) दम्पती आफ्ना ३ सन्तान सहित निर्माणाधीन अपार्टमेन्टको सानो कोठामा जीवनयापन गरिरहेका थिए ।
पुसको २९ गते बिहान १० बजेतिर सोही निर्माणाधीन अपार्टमेन्टमा मजदुरी गर्ने युवक अभिषेक कुमारले मृतक बालिकाका आमा–बुबा बाहिर गएको मौका छोपेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको थियो । त्यसअघि मृतक बालिकाका एक भाई र बहिनीलाई कोठा बाहिर राखेर भित्र घाटी निमोठिरहेको अवस्थामा मृतककी आमाले देखेपछि आरोपित अभिषेक भाग्न खोजेपछि बाहिरबाट ढोकाको चुकुल लगाउन सफल हुनु भएको थियो ।
मृतककी आमाले आफ्ना पतिलाई घटनाबारे जानकारी दिए लगतै नेपाली समुदायसँगै प्रहरी घटनास्थल आइपुगेको थियो । राममूर्ति नगर थाना प्रहरीले रश्मिलाई अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषणा गरेको बैंगलोर स्थित नेपाली समाजसेवी कृष्णा कँडेलले बताउनु भयो । उहाँले नेपाली नाबालिका माथि भएको बीभत्स घटनाले आक्रोशित नेपाली समुदायले दोषीलाई कानून सम्वत हदैसम्मको कारबाहीको मागसहित आन्दोलित भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको जनाउनु भयो । उहाँका अनुसार प्रहरी लाठीचार्जबाट नेपाली समुदायका करिब ५० जना घाइते भएका थिए ।
प्रहरीका अनुसार आज बैंगलोरको राममूर्ति नगर थाना प्रहरीले आरोपित अभिषेक कुमारसहित तीन जनलाई अदालत समक्ष पेश गरेको छ । यता भारत स्थित नेपाली दूतावासका निमित्त प्रमुख डा. सुरेन्द्र थापाले नेपाली नाबालिका माथि भएको जघन्य अपराधप्रति चिन्तित हुँदै पीडितको न्यायका लागि भारत सरकार समक्ष आवश्यक कानूनी कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही र पीडित परिवारलाई राहतका लागि आवश्यक पहल शुरु गरिएको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्