फोन नलाग्ने गाउँमा फोरजीको आनन्द, स्थानीय दंग
बाजुरा । भौगोलिक रुपमा निकै दुर्गम र कठिन रहेका बाजुराका गाउँहरूमा नेपाल टेलिकमको फोरजी सेवा बिस्तार भइरहेको छ। पहिला फोन गर्न टावर नै नदेखाउने गाउँहरूमा अहिले फोरजी सेवा सञ्चालनमा आउँदा स्थानीय दंग छन्।
जिल्लाको हिमाली गाउँपालिका ६ पाडीमा केहीसमय अघिसम्म सामान्य फोन सेवा पनि चल्दैनथ्यो । अहिले नेपाल टेलिकमले फोनसहितको भरपर्दो फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि यहाँका स्थानीय खुसी छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि स्थानीयले उत्सव नै मनाएका छन् ।
हिमाली गाउँपालिका देशकै सर्वाधिक विकट पालिकामध्येको एक पालिका हो । बाजुराका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासको सुविधा पुग्न नसकेको पालिका हिमाली गाउँपालिका नै हो । हिमालीमा पनि साविक बिच्छ्या र रुगीन गाउँ विकास समिति अन्तर्गत पर्ने वडाहरू दुरी र विकास दुवैले टाढा छन् ।
तीनै गाउँहरूमा बिजुली बाल्ने प्रयास, सडक पु¥याउने कोशिस भइरहेका छन् । अहिले यहाँ फोनसहितको फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीयले विकास गाउँ पुगेको आभास गर्न थालेका छन् । गाउँपालिकाले वडामा फोरजी सेवा विस्तार गर्नुलाई ठूलो सफलता ठानेको छ ।
भूगोल र सडक सञ्जालको समस्याले सामान्य विकासको अनुभूति गराउन समस्या हुने गाउँमा फोरजी सञ्चालन पछि धेरै ठूलो उपलब्धिका रूपमा पालिकाले लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताउनुभयो । भण्डारीले प्रत्येक वडामा फोरजी सेवा जडान गर्ने र स्थानीयलाई इन्टरनेट सेवाको पहुँचमा पुर्याउने पालिकाको लक्ष्य पुरा भएको बताउनुभयो।
यस अघि यहाँका स्थानीय मोबाइलमा कुरा गर्न पनि अग्लो डाँडा, अल्गो रुख खोज्न बाध्य थिए । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सकिने भएको छ । इन्टरनेटको सुविधासँगै फोटो र भिडियो देखिने सुविधा पुगेकोमा स्थानीय राज बहादुर थापाले खुसी ब्यक्त गर्नुभयो ।
हिमालीको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । विकास गर्न सहज छैन । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका सुविधा विस्तारमा लागि परेको पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनुभयो ।
पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वय गर्दै आएको थियो । त्यसकै निरन्तरता गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्