किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
बागलुङ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताउनुभएको छ ।
बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताउनुभयो ।
कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताउनुभयो । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उहाँले बताउनुभयो । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्