राष्ट्रिय जनसङ्ख्या नीति चाँडै ल्याउने सरकारको तयारी : मन्त्री पौडेल
धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले चाँडै राष्ट्रिय जनसङ्ख्या नीति ल्याउने तयारी गरेको बताउनुभएको छ ।
धनगढीमा जनसङ्ख्या र विकासबिच पारस्पारिक अन्तरसम्बन्धबारे नीति निर्माता एवं सरोकारवालहरूसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले जनसङ्ख्या घट्दै गरेको सन्दर्भमा सरकारले समय साक्षेप राष्ट्रिय जनसङ्ख्या नीति ल्याउन खोजेको बताउनुभयो ।
मन्त्री पौडेलले जनसङ्ख्या नीति नबनाएर राष्ट्रिय नीति फलदायी हुँदैन भन्नुहुँदै त्यसका लागि पूर्ण जनसाङ्ख्यिक नीति आवश्यक रहेकाले तयारी भइरहेको बताउनुभयो । उहाँले जनसङ्ख्या र विकासलाई भूगोलसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बसाइसराइका कारण जनसङ्ख्यामा प्रभाव परेकाले जनतालाई आम्दानी र आर्य-आर्जनसँग जोड्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरि प्रसाद मैनाली, उच्च पदस्थ सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
आजै धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकार आम नागरिकले सहज र सुलभ रुपमा औषधी, उपचार पाउन भन्नेतर्फ गम्भीर रहेको बताउनुभयो । उहाँले सेती प्रादेशिक अस्पतालमा १० वार्डको सिकलसेल एनिमियाको उपचार कक्ष स्थापनाका लागि संघीय सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री पौडेलले मेडिकल विश्व विद्यालयका लागि गेटामा तीन शय्याको अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्