तपाईँ सुन्दै हुनुहुन्छः

घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

बारा । खानेपानीमन्त्री प्रदीप यादवले जिल्लाका घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताउनुभएको छ ।

आज उहाँले नेपाल खानेपानी संस्थान कलैया शाखाद्वारा आयोजित मानमत–कलैया–मटिअर्वा सडकखण्डमा जोडिने खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “बारामा घामपानीले क्षति पुर्‍याएका खानेपानीका सबै ट्याङ्की मर्मतका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी यहाँका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने बचन दिन चाहन्छु ।”

पछिल्लो समय चुरे दोहान, जङ्गल फडानी बढेको र जलवायु परिवर्तनका कारण तराईमा भूमिगत खानेपानीसहित चापाकल सुक्दै गएकाले आगामी दिनमा पानीको समस्या थप जटिल हुने अवस्था सृजना भएको बताउनुभयो । 

“विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, अहिले तीन सय फिटमा पनि आउन छाडेको छ,” उहाँले भन्नुभयो, “शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको हाहाकार हुने सम्भावना छ ।”

सिस्वा गाउँ र आसपासका क्षेत्रमा खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको बोलपत्र आह्वान गर्ने कार्ययोजना रहेको उहाँले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेशसभा सदस्य पारस साह, कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह लगायतको  सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button