गार्मेन्टबाट ८ बालबालिकाको उद्धार
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित जामुन डाँडामा रहेको शुष्मा गलैँचा उद्योगबाट ८ बालबालिकाको उद्धार गरिएको छ ।

बाल हेल्प लाइन नेपाल मकवानपुरको सूचनाका आधारमा उनीहरुलाई उद्धार गरिएको हो । उक्त उद्योगमा राक्सिराङ गाउँपालिका–१, भुमीथली घर भएका सोमबहादुर बुलुनका १४ वर्षीय छोरा बालश्रममा संलग्न रहेको भन्ने सूचना जीतपुरसिमरा उपमहानगरपालिकामा आएको थियो । सूचनापछि उपमहानगरपालिकाको नगर प्रहरी बल, श्रम तथा रोजगार कार्यालय वीरगन्जका प्रमुख, सिविन बाल हेल्प लाइन नेपाल मकवानपुरका प्रबन्धक र अन्य सरोकारवाला निकायहरूको टोलीले संयुक्त अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा उद्योग सञ्चालक स्थानीय मान बहादुर लोप्चनद्वारा सञ्चालन गरिएको उद्योगमा करिब ३५ जना कामदार कार्यरत रहेका थिए । तीमध्ये ८ जना बालबालिका रहेका छन् । उद्धार गरिएकामध्ये ३ जना बालिका र ५ जना बालक रहेका छन् । उद्धार गरिएका बालबालिकाहरू १३ देखि १७ वर्ष सम्मका रहेका छन् ।
उपमहानगरपालिकाले सिविन नेपालसँग सहकार्य गरी उद्धार गरिएका बालबालिकाको कानुनी प्रक्रियाका लागि श्रम तथा रोजगार कार्यालय वीरगन्जलाई जिम्मा लगाएको छ ।
प्रतिक्रिया राख्नुहोस्