माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइने
काठमाडौँ । सरकारले हरेक वर्षको माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक वर्षको माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको बताउनुभयो ।

सम्पत्ति शुद्धीकरणबारे जनचेतना फैलाएर यस सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय छवि सुधार गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी राष्ट्रिय दिवसका रुपमा मनाइने भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने, खानेपानी तथा सरसफाई नियमावली २०८१ स्वीकृत गर्ने, निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णय गरेको पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ भने ऊर्जा विकास मार्गचित्र २०८१ स्वीकृत गर्नुका साथै वाणिज्य नीति २०८१ लाई पनि स्वीकृत गरेको छ ।
यसैगरी सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने र राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा रुपन्देहीका ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्