मुगुमा छुट्टै राष्ट्रिय निकुञ्ज स्थापनाको माग

मुगु । मुगु जिल्लामा नयाँ राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वा सिकार आरक्ष स्थापना गर्न सके यसले जिल्लाको समृद्धि र विकासमा ठोस आधार तयार हुने मुगुम कार्मारोङ गाउँपालिकाको ठहर छ।
गाउँपालिकाले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले ओगटेको ९०६ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नयाँ निकुञ्ज वा संरक्षण क्षेत्र बनाउने हो भने यसले मुगुम कार्मारोङ गाउँपालिकाका जनताको आर्थिक, सामाजिक र प्रशासनिक समस्याको समाधान हुनेछ।”
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “निकुञ्जसँग सम्बन्धित सेवा सुविधाका लागि स्थानीय बासिन्दालाई लामो दूरीको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटाउन तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्न संघीय सरकारले ठोस कदम चाल्नुपर्छ।”
यसअघि, वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज स्थापनाका लागि प्राविधिक समिति गठन गरेको थियो। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा रारा राष्ट्रिय निकुञ्ज, मुगु डिभिजन वन कार्यालय, र राष्ट्रिय वन्यजन्तु संरक्षण विभागका प्रतिनिधि सदस्य रहेका छन्।
गाउँपालिकाले निकुञ्ज स्थापनाले पर्यावरणीय संरक्षण, जैविक विविधताको दिगो उपयोग, पर्यटन प्रवर्द्धन, र स्थानीय समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा यो प्रक्रियामा गलत प्रचारप्रसार नगरिदिन सबै सरोकारवालालाई आग्रह गरिएको छ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको निर्णयअनुसार प्राविधिक समितिले विस्तृत अध्ययन गरिरहेको छ। जिल्लावासीले लामो समयदेखि उठाउँदै आएको यो माग पूरा हुनेमा आशा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्