चुरेमा स्थानीयद्वारा पोखरी संरक्षण
इलाम । दक्षिणी इलामको चुलाचुलीमा पोखरी संरक्षणमा स्थानीय जुटेका छन् । चुरे वन क्षेत्रमा रहेको घुमाउरो र वातावरणीय महत्वकाे बिधुवा खोलामा बाँध निर्माण गरी पोखरीको संरक्षण थालिएको हो ।
चुरे क्षेत्र भएर बग्ने बिधुवा खोलामा रहेको रमणीय क्षेत्रमा बाँध हालेर स्थानीयबासीले पोखरीको निर्माण गरेका छन् । चुलाचुली गाउँपालिकाको सहयोगमा यहाँ पोखरी संरक्षण गरी यसको प्रवद्र्धनका लागि ऐना पोखरी महोत्सव सम्पन्न भएको छ । गत फागुन एक गतेदेखि १० गतेसम्म विभिन्न साँस्कृतिक कार्यक्रम सहित महोत्सव सम्पन्न भएको स्थानीय समाजसेवी गजेन्द्र याखाले जानकारी दिए । उनले स्थानीय क्षेत्रको पहिचान झल्कने झाँकी र परिकार पनि महोत्सवमा समावेश गरिएको बताए । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू राजेशपायल राई लगायत दर्जनाै प्रस्तुति दिएका थिए ।

चुलाचुली गाउँपालिकादेखि माङ्गसेबुङ जोड्ने अन्तरपालिका सडक रहेको स्थानलाई व्यवस्थित बनाउन श्रम संस्कृति पार्कको रुपमा विकास गरिएको छ । पोखरी संरक्षणपछि तल्लो तटीय क्षेत्रमा पानीको श्रोत दिगो हुने स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले समग्र चुलाचुलीको पहिचानका लागि पोखरीले आकर्षण थपेको बताए । उनले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने जानकारी दिए ।
वरिपरि घुमेको खोला क्षेत्रमा टलक्क टल्कने पानी जमेकाले स्थानीयले ऐना पोखरी नामाकरण गरेका हुन् । पोखरी आसपासका क्षेत्रमा विभिन्न मूर्ति र पार्क निर्माण गर्ने योजना गाउँपालिकाको रहेको छ । पोखरी क्षेत्र वरिपरि चुरे वन क्षेत्र र देवी स्थान समेत रहेकोले समिति गठन गरेर स्थानीयबासी संरक्षणमा जुटेका हुन् ।









प्रतिक्रिया राख्नुहोस्