तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा पिएसबीलाई अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण, पिएसबी नेपालमा रूपान्तरण भएपछि यी दुवै माध्यमबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।

सार्वजनिक सेवा प्रसारणका लागि आवश्यक पर्ने विषयवस्तुको छनौट, शैली, उत्पादन र प्रसारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।

यसै क्रममा सार्वजनिक सेवा प्रसारणमा कार्यक्रमका विषयवस्तु चयन, कार्यक्रम उत्पादकको जिम्मेवारी एवं जबाफदेहिता विषयमा आज सिंहदरबारमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो । यसअघि गत शुक्रबार समाचारका विषयवस्तु, जिम्मेवारी र जबाफदेहिताका विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

ती दुवै अभिमुखीकरण कार्यक्रममा सञ्चार विज्ञ रघु मैनालीले सार्वजनिक सेवा प्रसारणका विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

आज आयोजित अभिमुखीकरण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पूर्ण पिएसबी बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले, मुलुकको सांस्कृतिक, सामाजिक र भौगोलिक विविधतामा आधारित भएर नागरिकले बुझ्ने खालका विषयवस्तु उत्पादन गर्ने र जनताका समस्या उजागर गरी नीति निर्मातासम्म पुर्‍याएर समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री न्यौपानेले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार प्रसारण सामग्रीलाई प्राथमिकतामा राख्दै प्रसारणलाई जनता केन्द्रित बनाउने कार्यमा एकीकृत भएर लाग्न सबै जनशक्तिलाई आग्रह गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रम उत्पादन र प्रसारणसँग सम्बन्धित प्रसारकहरू सहभागी हुनुहुन्थ्यो ।

फोटो : रोम थापा

प्रतिक्रिया राख्नुहोस्

Back to top button