तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी तवरबाट च्याउ दिवस मनाउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताउनुभएको छ ।

च्याउ उत्पादक किसान सङ्घले काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीअधिकारीले नेपालीहरूमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरतातर्फ उन्मुख रहेकाले बिस्तारै निर्याततर्फ लाग्ने गरि काम गर्नुपर्नेमा जोड दिनुपर्ने र यसका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधीकरणतर्फ जानु जरुरी रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button