तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तलामा कालो ढुसी रोग लागेपछि सल्यानका किसान चिन्तित 

सल्यान । पाकेर बजार लान तयार भएको सुन्तलामा कालो ढुसी रोग लागेपछि सल्यानका किसान चिन्तित भएका छन् । 

पहेँलपुर भएर पाकेको सुन्तलामा कालो ढुसी लागेर सुन्तला र बोट नै सुक्न थालेपछि किसान किसान चिन्तित भएका हुन । 

आफ्नो ३ सय सुन्तलाका बोट मध्ये ५० बोटमा कालो ढुसी रोग लागेकाले बोट, फल र पातमा असर गरेको छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका किसान टिकाराम बुढाले बताउनुभयो । रोगका कारण पाकेका सुन्तला झर्न थालेको उहाँको दुखेसो रहेको छ । 

७ रोपनीमा सुन्तला खेती गर्दै आउनुभएका बुढाको बगैँचामा गत भदौ महिनादेखि कालो ढुसी लागेको र औषधी गरेको तर नियन्त्रण नभएको र सरोकारवाला निकायले सुन्तला व्यावसायिक किसानको समस्या समाधान गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।

अर्का किसान लोक बहादुर बिकले सुन्तला बिक्री गर्ने समयमा कालो ढुसीका कारणले १० बोट सकेको बताउनुभयो । बुढेसकालको सहारा नै सुन्तला बगैँचा थियो फलमा कालो ढुसीले दैनिक असर गर्न थालेपछि  बोट नै सुकेको उहाँले गुनासो गर्नुभयो ।

छत्रेश्वरी–२ वडाका अधिकांश किसानहरूको सुन्तला बगैँचामा कालो ढुसिलागेको पाइएको छ ।

यो समय फल टिप्ने समय भएको र विषादी प्रयोग गर्न नमिल्ने भएकोले किसानले फल टिपेर बिक्री वितरण गर्न कृषि विकास कार्यालय सल्यानले किसानलाई सुझाव दिएको छ । 

कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले घाम कम लाग्ने तथा ओसिलो क्षेत्रमा कालो ढुसीको समस्या देखिने भएकोले ढुसी नियन्त्रणको लागि फल टिपिसकेपछि विषादी प्रयोग गर्नु पर्ने बताउनुभयो ।  ढुसीले फलको बाहिर भाग मात्रै असर हुने भएकोले तत्काल फल टिपेर बिक्री वितरण गर्न पनि किसानलाई  अनुरोध गर्नुभयो ।

किसानको समस्याको बारेमा फल टिपेर बगैँचा खाली भएपछि वडाको दहखोलामा  पाठशाला नै सञ्चालन गरि रोग नियन्त्रण गर्न बगैँचामा प्राविधिकसहित जाने कार्ययोजना रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button