तपाईँ सुन्दै हुनुहुन्छः

कानुन सबैका लागि बराबर हो :उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताउनुभयो । “कानुन सबैका लागि समान हो । कानुन अनुरुप हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।”

अहिलेको सरकारले अघिल्ला सरकारहरूले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री  सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेबिचको समझदारीअनुसार सरकार अघि बढेको बताउनुभयो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट  देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button