तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवालाई जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ । निजामती कर्मचारी सेवालाई सङ्घीय संरचना अनुरुप जनताप्रति उत्तरदायी सेवाका रुपमा व्यवस्थित पर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आज विज्ञहरूसँगको छलफलमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले निजामती सेवालाई जनउत्तरदायी सेवा बनाउने गरी प्रावधान राख्नुपर्ने बताउनुभयो ।

छलफलमा पूर्व अध्यक्ष मैनालीले कर्मचारी सरुवालाई पूर्व अनुमानयोग्य बनाइनुपर्ने, तहगत प्रणालीमार्फत एकिकृत सेवाको व्यवस्था गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कनलाई अझ बढी वस्तुगत बनाउन ७२० डिग्री को मूल्याङ्कन प्रणाली अपनाउनु पर्ने पनि सुझाव दिनुभयो ।

पूर्व अध्यक्ष मैनालीले राजनीतिक दल र कर्मचारीबीच सुमधुर, विश्वासको सम्बन्ध सिर्जना हुनेगरी विधेयकले समेट्नुपर्ने र एकल कर्मचारी ट्रेड युनियन मात्र हुनुपर्नेमा पनि जोड दिनुभयो ।

यस्तै छलफलमा पूर्वमुख्य सचिव विमल कोइरालाले निजामती कर्मचारी  विधेयकले तीन तहका सरकारबिच तादाम्यता, समन्वय र सूचना आदानप्रदान गर्ने मान्यतालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

पूर्व मुख्यसचिव कोइरालाले अवधि नसकिदैै अनावश्यक सरुवा गर्ने प्रवृत्तिलाई रोक्न सरुवा गर्नेउपर कानुनी कारबाहीको प्रावधान राख्नुपर्ने पनि सुझाव दिनुभयो ।

यस्तै छलफलमा पूर्व संविधान सभा सदस्य जनकराज जोशीले निजामती सेवा के कस्तो प्रकृतिको हुने भन्ने बारे स्पष्ट व्याख्या र वैधता प्रदान गर्ने गरी विधेयकमा परिभाषित गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले अवकाश प्राप्त कर्मचारीहरूले कुनै पनि बाह्य मुलुकको पिआर, ग्रिन कार्ड लिएकाको हकमा सरकारबाट दिइने निवृत्तिभरण लिन नहुने व्यवस्था गर्नुपर्ने र कर्मचारीहरूको अन्तरप्रदेश सरुवा गर्नुपर्ने प्रावधान ल्याउन सुझाव राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button