लामिछाने सांसद पदबाट निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचना पत्रमा ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था भएकाले निलम्बन गरिएको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रहरीले लामिछानेविरुद्ध हिजो कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको थियाे । जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियाेगपत्र पेश भएकाे पत्र सभामुखलाई पठाएकोले र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा बताइएको छ ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्