जनकपुरधामका प्रसिद्ध सामाजिक संस्था रामानन्दद्वारा तीनजना स्रष्टा पुरस्कृत
जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध सामाजिक संस्थाको रुपमा रहेको रामानन्द युवा क्लबले प्रत्येक वर्ष प्रदान गर्दै तीन विधाका पुरस्कार तीन जना स्रष्टालाई आज जनकपुरधाममा प्रदान गरेर सम्मानित गरेको छ ।
क्लबको ३९ औँ वार्षिकोत्सवको अवसर पारेर रामानन्द युवा क्लबले स्थापना गरेको विद्यापति स्मृति पदक २०८१ साहित्यकार तथा कवयित्री विजेता चौधरीलाई प्रदान गरिएको छ । यसै गरि रेडियो नेपालका सङ्गीत महाशाखामा कार्यरत रहेका सङ्गीतकार हरिशंकर चौधरीलाई श्री सरस्वती राजनारायण पुरस्कार २०८१ प्रदान गरिएको छ ।
यी दुवै पुरस्कारमा २१ हजार नगद, सम्मानपत्र रहेको छ । यसै गरि रामानन्द युवा क्लबको अगुवाइमा प्रदान गरिँदै आएको चन्द्रकला वरिष्ठ खेलकुद पुरस्कार भारोत्तोलनका पूर्व प्रशिक्षक एवं साहित्यकार अबधेश पोखरेल जनकपुरीयालाई प्रदान गरिएको छ । उक्त पुरस्कारमा २५ हजार नगद रहेको रामानन्द युवा क्लबका महासचिव रोशन कुमार मिश्रले जानकारी दिनु भयो ।
तीनै जना स्रष्टालाई मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले दोसल्ला सहित पुरस्कारको रकम एवं सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नु भएको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै भौतिक मन्त्री यादवले नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन देखि सामाजिक चेतना जागृत गर्न, खेलकुद, समाजसेवा तथा गीत सङ्गीतको क्षेत्रमा रामानन्द युवा क्लबको अहम् भूमिका रहेको बताउनु भयो ।
उहाँले युवा क्लबहरूले अव मुलुकको आर्थिक विकास, सुशासन, सांस्कृतिक जागरण तथा भौतिक विकासका लागि अगुवाई गर्नका लागि आग्रह गर्दै सङ्घीयतालाई बलियो बनाउनका लागि युवा शक्तिले विशेष रुपमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेश सरकारले विश्व बैङ्कको आर्थिक सहयोगमा १ अर्बको धनुषा तथा महोत्तरीको २ सडकको टेण्डर गर्नुका साथै प्रदेश सरकारले ६४ निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडकको निर्माणका लागि ९ अर्ब ६० करोडको टेण्डर गर्न लागेको बताउनु भयो ।
मधेश प्रदेश सभाका पूर्व सदस्य परमेश्वर साहले मधेश प्रदेश सरकारले राम्रो काम नगरेको खण्डमा यसको असर सोझै संघीय शासन प्रणालीमा पर्ने भएकाले सचेत रहनका लागि आग्रह गर्नु भयो ।
रामानन्द युवा क्लबको अध्यक्ष शशिभूषण झा आशुतोषको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नंं ८ का वडाध्यक्ष दिनेश कुमार सिंह, क्लबका संस्थापक अनिल मिश्र, सम्मानित व्यक्ति विजेता चौधरी सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
कार्यक्रममा अवधेश पोखरेलको नेपाली भाषामा लेखिएको जीवनका रङ्गहरू विषयक व्यङ्ग्य सङ्ग्रहको मन्त्री यादवले विमोचन गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्