तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा विधेयकमाथि समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्ता  सांसदहरूसँगको छलफल जारी रहेको छ ।

समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरूले माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनु पर्नेमा जोड दिनुभएको छ । 

कामका आधारमा पारदर्शी रुपमा कर्मचारीहरूको मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरूलाई कामप्रति जिम्मेवार बनाइनु पर्ने, सरुवा र बढुवालाई व्यवस्थित गर्नुपर्ने र काजमा बस्ने व्यवस्था हटाएर खटाइएको ठाउँमा अनिवार्य जानै पर्ने व्यवस्था गर्नु पर्नेमा सांसदहरुले जोड दिनुभयो ।

सांसदहरुले निजामती सेवाको संरचनागत सुधार गर्नुपर्ने, सङ्घीयता बलियो बनाउने गरी कानुन बनाउनु पर्ने, निजामती सेवा विधेयकको प्रस्तावनामा नै समानुपातिक समावेशीको सिद्धान्तलाई उल्लेख गर्नु पर्ने बताउनुभयो । 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाका एक सय २४ जना सांसदहरुले एक हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । 

विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ र पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौ वटा श्रेणी र १४ सम्म तह रहनेगरी विधेयकमा प्रस्ताव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button